एक पटकको कुरा हो—पूर्वी मधेशको एक सुन्दर, समृद्ध राज्य थियो, नाम थियो जयपुर। त्यहाँका राजा थिए गागुराम। उनी असाध्यै बलिया थिए, बुद्धिमान पनि थिए, र सहरका पर्खालहरू सुनझैं चम्किरहेका थिए। तर, गागुरामको एउटा समस्या थियो—उनी आफूलाई सबैभन्दा माथि सम्झन्थे। "शहर मेरो हो, जनता मेरो, जे गर्छु, म गर्छु!" भन्ने उनको आदत बनिसकेको थियो।
जनताले डराएर मात्र बाँच्न थाले। कसैले केही कुरा गर्न पनि डराउँथ्यो। गागुराम सहर घुम्थे, आफ्नो चाहनाअनुसार जो सुकैलाई नियन्त्रणमा लिन्थे। कुनै नवविवाहिता मन परे भने—राजा भइसकेपछि उनलाई कसले रोकिन्थ्यो र! "यो मलाई चाहियो," भन्दै लिएर जान्थे। जनता चुप, डरले निस्सासिएका।
अन्ततः, जनताले आकाशतिर हेरेर देवता हडबाबालाई गुहार गरे। "हाम्रो राजा त पागल भयो! हामीलाई बचाऊ!" हडबाबा देवता थिए—शान्तिप्रेमी, बुद्धिमान। उनले मनमा सोचे, "यो गागुरामलाई नियन्त्रणमा राख्ने उपाय के होला?" अनि उनले देवी मानकीलाई भने—"गागुराम जस्तै बलियो, तर भित्रदेखि न्यायप्रेमी मान्छे बनाऊ। ऊ गागुराम भन्दा बलियाे होस्, र उसका कमजोरी सन्तुलनमा ल्याओस्।"
त्यसपछि जन्मिए मनिराम। वनमा हुर्किएका, जनावरसँग रमाउने, अनौठो तर सज्जन। उनी राजा होइनन्, तर वीर थिए—असली वीर। जब उनले गागुरामले अर्काको दुलहीलाई जबर्जस्ती गर्न लागेका खबर सुने, उनी ढोका अगाडि गए। "यहाँबाट फर्क! अत्याचार अब सहिंदैन," भन्दै उभिए।
गागुराम रिसाए। "म राजा हुँ! मलाई को रोक्छ?" अनि भयो ठुलाे लडाई — धडाम धुम! जनताले सास थामे, ढुंगाहरू थर्किए, गगन गुञ्जायमान भयो। तर लड्दै गर्दा उनीहरूले एकअर्काको बल र भित्रको सच्चाई चिने। दुवै थाके, अनि एकअर्कालाई अँगालो हालेर भने—"हामी दुश्मन होइनौं, साथी हौं! हामी मीलेर राज गराै"
फेरी सन्तुलन हराउँदै गयो। जनताको आवाज फेरि दबिन थाल्यो। मनिरामले रोक्न खोजेनन, उनि मिलेका थिए गागुराम संग।
अन्त्यमा जयपुरमा न्याय हरायो, शक्तिको अति दुरुपयाेग भयो। अनि जनताले फेरि आकाशतिर हेरे, र सोच्न थाले—"अब अर्को मनिराम कहिले जन्मिन्छ?"
(By Kamal, it's a Nepali rendering of the ancient story presented by Daron Acemoglu and James A. Robinson in the book "The Narrow Corridor", a Novel prize winning book. StorySeriesForKids by EducateOurKids2024)