गङ्गामाया अधिकारीको जीवन रक्षाको लागि अविलम्व आवश्यक सम्पूर्ण कदम चाल्न नेपाल सरकारको विशेष ध्यानकर्षण ।


मिति २०७१ असोज ८
माननीय उपप्रधान तथा गृहमन्त्रीज्यू,
नेपाल सरकार, गृह मन्त्रालय 
सिंहदरबार, काठमाडौं 

विषय ः गङ्गामाया अधिकारीको जीवन रक्षाको लागि अविलम्व आवश्यक सम्पूर्ण कदम चाल्न नेपाल सरकारको विशेष ध्यानकर्षण । 

महोदय,
२०६१ साल जेष्ठ २४ गते आफ्ना छोरा कृष्णप्रसाद अधिकारीलाई अपहरण गरी चरम यातना पश्चात हत्या गरिएको विरुद्ध न्यायको माग राख्दै अधिकारी दम्पतीले दशक भन्दा वढि समय देखि अनेक प्रयत्न गर्दा पनि सो हत्यामा संलग्न भएका मुख्य अभियुक्तलाई गिरफ्तार गरी विश्वसनीय अनुसन्धान नगरेपश्चात न्यायको माग राखि नन्दप्रसाद अधिकारी तथा गंगामाया अधिकारी विगत ११ महिनादेखि आमरण अनशनरत रहदै आउनु भएको कुरा सर्वविदितै छ ।  

आफ्नो छोरा कृष्णप्रसाद अधिकारको हत्याको स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय अनुसन्धानको माग राखि अनशनरत अधिकारी दम्पत्तीको न्यायको मागलाई नेपाल सरकारले निरन्तर वेवास्ता गर्दै निज नन्दप्रसाद अधिकारीलाई मृत्युवरण गर्न वाध्य बनाएको घटनाले समस्त नेपाली जनतामा नेपालमा कानूनको शासन तथा जवाफदेही सरकार रहेकोमा गम्भिर आशंका उत्पन्न भएको छ । सरकारी रेखदेखमा सरकारी अस्पतालमा नै रहेको अवस्थामा र न्यायको माग राखि संघर्ष गर्दा गर्दै सरकारको वेवास्ता तथा चरम लापरवाहीको कारणले एकजना नागरिकले देह त्याग गर्नु परेको यो घटनाले सम्पूर्ण न्यायप्रेमी मानव समुदायलाई मर्माहत तुल्याएको छ । 

यो घटनाले नेपालमा नागरिकहरूको न्याय प्राप्तीको आकाङ्क्षा प्रति नेपाल सरकारकोे चरम उदासिनता उजागर गर्नुको साथै लोकतन्त्र, मानवअधिकार तथा विधिको शासनको पनि उपहास गरेको छ । यसले नन्दप्रसादको देहावसान भन्दा पनि समग्र न्यायको देहावसानको सङ्केत गरेको छ । 

वर्षौदेखि न्याय प्राप्तीका विभिन्न मार्ग अपनाउँदै आएका अधिकारी दम्पत्तीले कतैबाट पनि न्यायको आशा अनुभुती गर्न नसकेपश्चात अन्तिम अस्त्रको रूपमा आमरण अनशनलाई अंगालेका थिए, जसमा हामी मानव अधिकारकर्मीहरु यो आत्मविनाशी तरिका इन्कार गरी न्याय प्राप्तीका अन्य मार्ग एवं प्रक्रियाहरू अवलम्वल गर्न भरमग्दुर प्रयास गरेको जगजाहेर छ । तर दुर्भाग्य न्यायका लागि मर्ने अन्तिम चरणमा पुगेको अवस्थामा समेत उनलाई सो बाटो परित्याग गर्न र न्याय प्राप्तिको सुनिश्चिता गर्न सरकार कुनै ठोस कदम चाल्न असफल रह्यो । 

मानव अधिकारको गम्भीर उल्लंघनको घटनामा न्याय प्राप्तीको लागि संघर्षरत नेपाली नागरिकलाई सरकारको उदासीनता एवं लापरवाहीको कारणले मृत्युवरण गर्न बाध्य बनाइएको यस लज्जास्पद घडीमा सम्पूर्ण न्याय प्रेमी जनताको तर्फबाट जवाफदेहीता निगरानी समिति नेपाल सरकार समक्ष निम्न लिखित माग गर्दछौं ।

१. निज नन्दप्रसाद अधिकारीसंगै आमरण अनशनमा रहनु भएकी निजकी पत्नी गङ्गामायाको जीवन रक्षाको लागि अविलम्व आवश्यक सम्पूर्ण कदम चाल्न नेपाल सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छौ । 

२. कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न व्यक्तिहरुलाई अविलम्व पक्राउ गरी निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गर्न अविलम्व कदम चाल्न नेपाल सरकार समक्ष माग गर्दछौ । साथै निजको हत्यामा संलग्न देखिएका मुख्य व्यक्ति नेपाल बाहिर रहेको भन्ने सन्दर्भमा निजलाई नेपालमा झिकाई अनुसन्धान कारवाही अगाडी बढाउन अविलम्ब आवश्यक कदम चाली नेपाली जनतामा कानूनको शासनको अनुभुती गराउन जोडदार माग गर्दछौं । 

यस दुखद घडीमा आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि न्यायको लागि निरन्तर संघर्षरत निज नन्दप्रसाद अधिकारी प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्न चाहन्छौं ।


सुशील प्याकुरेल
अध्यक्ष




No comments:

Post a Comment

Only genuine comments please!

Most Popular Posts